सांसद विश्वकर्माद्वारा देवदह मा.वि.को चारकोठे भवनको शिलान्यास

भैरहवा । रुपन्देहीको देवदह नगरपालिका–७, मा अवस्थित देवदह माध्यमिक विद्यालयमा चारकोठे पक्की भवनको शिलान्यास गरिएको छ । संघीय सरकारको तराई मधेश समृद्धि कार्यक्रम अन्र्तगतको करिब ३४ लाख रुपैयाँ लागतमा भवन निर्माण हुन लागेकोे हो ।

भवनको बिहीबार एक कार्यक्रमकाबीच प्रतिनिधिसभा सांसद छबिलाल विश्वकर्माले शिलान्यास गरेका हुन् । सो अवसरमा बोल्दै सांसद विश्वकर्माले गुणस्तरीय शिक्षाको विकासको लागि सरकारले अहिले शिक्षा ऐन निर्माण गरेर अगाडि बढिरहेको बताए । उनले विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण सवैभन्दा बढी शिक्षा क्षेत्र प्रभावित भएकोले शिक्षाको विकासको लागि सबै एकजुट हुन आवश्यक रहेकोमा जोड दिए ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य समेत रहेका सांसद विश्वकर्माले स्वास्थ्य मापदण्ड अपनाएर शिक्षालाई अगाडि बढाउनुको कुनै विकल्प नभएको बताए । उनले विद्यालयले अगाडि सारेको योजना सफल बनाउन आफनोतर्फबाट सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । उनले देवदहमा बौद्ध विश्वविद्यालय संचालनको अन्तिम तयारीमा रहेको समेत जानकारी दिए ।

पूर्व कृषिमन्त्री समेत रहेका विश्वकर्माले पार्टी भित्रको अन्तर विरोधलाई सरकारसंग जोड्न नहुनेमा जोड दिए । उनले पार्टी भित्र अन्तर विरोध भए पनि जनताको अभिमत अनुसार सरकार अगाडि बढ्ने दावी गरे । उनले अहिले देशमा संघीयताको अभ्यासमा रहेको बताउदै विकास निर्माणको लागि तीनै तहका सरकार बीच समन्वय हुन आवश्यक रहेको औल्याए ।

सोही अवसरमा सांसद विश्वकर्माले विद्यालयलाई स्वास्थ्य सामाग्री समेत प्रदान गरेका थिए । उनले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ अधिकारीलाई माक्स लगायतका स्वास्थ्य सामाग्री प्रदान गरेका हुन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ अधिकारीको अध्यक्षतामा भएको भवन शिलान्यास कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद डा. कृष्ण प्रसाद न्यौपाने, देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डे, देवदह–७ का वडाअध्यक्ष पदम थापा, नेकपा देवदहका अध्यक्ष प्रकाश अर्याल, यम राना, देवदह–७ का वडा सदस्यद्धय सरस्वती पोखरेल, धुव्र खरेल, कृष्ण अधिकारी, हरी मरासिनी, सोनु विक, विनोद शर्मा लगायतको उपस्थिति रहेको थियो । विद्यालयका प्रधानाध्यापक केशव प्रसाद घिमिरेको स्वागत तथा शिक्षक दिल कुमार वि.क.को संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial