
भैरहवाँ । रुपन्देही प्रहरीले पेस्तोल देखाइ त्रसित बनाउने २१ वर्षिय युवकलाई पक्राउ गरेको छ । रुपन्देहीको कोटहीमाई गाउँपालिका–२ स्थित गुलरियामा स्थानीयलाई पेस्तोल देखाइ त्रसित बनाएको खबर पाएपछि इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका–९ का २१ वर्षिय राजकुमार हरिजनलाई उनको घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खड्क बहादुर खत्रीको अनुसार राजकुमारले प्रयोग गरेको हतियारको बारेमा खोजतलास गर्ने क्रममा मायादेवी गाउँपालिका–४ गुण्डीढालाका ३९ वर्षिय सदानन्द सहानीको नास्ता पसलभित्र लुकाइछिपाइ राखेको अवस्थामा एक थान कटुवा पेस्तोल प्रहरीले बरामद गरेको छ ।
पक्राउ परेका दुवैजनालाई अबैध हतियार तथा डरत्रास फैलाएको अभियोगमा जिल्ला अदालत रूपन्देहीबाट म्याद थप गराई हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खड्क बहादुर खत्रीले जानकारी दिए ।