प्रदेश ५ को स्थायी राजधानी भालुवाङ्ग नाम लुम्बिनी कायम

राधेश्याम विश्वकर्मा
भैरहवा । प्रदेश सभा स्थापना भएको ३ बर्ष पछि प्रदेश नम्बर ५ ले स्थायी राजधानी र प्रदेशको नाम पाएको छ ।
प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ भएको छ । प्रदेश ५ प्रदेशसभाको मंगलबार बसेको छैठौं अधिवेशन तथा ३२ औं बैठकमा प्रदेश ५ सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानून् मन्त्री कुलप्रसाद केसीले संसदमा पेश गरेको प्रस्ताव दुई तिहाईले स्वीकृत भएपछि स्थायी राजधानी भालुवाङ भएको हो ।
गत शुक्रबार मन्त्री केसीले संसदमा पेश गरेको प्रस्तावमा ३ वटा संसोधनको प्रस्ताव पेश भएको थियो । संसदमा मंगलबार भएको मतदानमा ६९ जना सांसदहरुले मन्त्री केसीको प्रस्तावको पक्षमा तथा १३ जना सांसदले विपक्षमा मतदान गरेका थिए । ८७ जना सांसदहरु मध्ये ८२ जना सांसदहरु बैठकमा उपस्थित थिए ।
प्रदेश सरकारको प्रस्तावको पक्षमा नेकपाका सांसदहरु सहित नेपाली काँग्रेसका केहि सांसद तथा संघिय समाजबादी पार्टीका सांसदले मत ब्यक्त गरेका थिए । काँग्रेसका साविक लुम्बिनी अञ्चलका जिल्लाहरुबाट प्रतिनिधित्व गर्ने सांसदहरुले भने विपक्षमा मत हालेका थिए । १ जना सांसद रहेको राष्ट्रिय जनमोर्चाले मतदानमा भाग लिएन ।
प्रदेशसको स्थायी राजधानी तोक्ने सम्बन्धमा प्रदेश ५ को प्रदेशसभामा भएको मतदानमा नेपाली काँग्रेसका केहि सभासदले पार्टी ह्वीप उल्लंघन गर्दै प्रदेश सरकारको प्रस्तावको पक्षमा मतदान गरेका छन् । काँग्रेस संसदीय दलको विपक्षमा मतदान गर्ने ह्वीप उल्लंघन गर्दै सांसदहरु याकुव अन्सारी, भुमेश्वर चौधरी, डिल्ली चौधरी, शंकर गिरी र अर्जुन श्रेष्ठले फ्लोर क्रस गर्दै सरकारको प्रस्तावको पक्षमा मतदान गरेका हुन् ।

काँग्रेस संदीयदलले सरकारले दाङको भालुवाङ क्षेत्रलाई स्थायी राजधानी तोक्ने गरि राखेको प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको थियो । पार्टीका मुख्य सचेतक सुरेन्द्र हमाल भने मतदानमा उपस्थित भएनन् ।
यस्तै प्रदेश ५ को नाम लुम्बिनी भएको छ । प्रदेश ५ प्रदेशसभाको मंगलबार बसेको छैठौं अधिवेशन तथा ३२ औं बैठकमा प्रदेश ५ सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानून् मन्त्री कुलप्रसाद केसीले संसदमा पेश गरेको प्रस्ताव दुई तिहाईले स्वीकृत भएपछि प्रदेशको नाम लुम्बिनी भएको हो ।
गत शुक्रबार मन्त्री केसीले संसदमा पेश गरेको प्रस्तावमा एक संसोधनको प्रस्ताव पेश भएको थियो । संसदमा मंगलबार भएको मतदानमा ७९ जना सांसदहरुले मन्त्री केसीको प्रस्तावको पक्षमा तथा ४ जना सांसदले विपक्षमा मतदान गरेका थिए ।
प्रदेशसभामा पेस भएको प्रदेशको स्थायी राजधानी दाङ बनाउने सरकारको आन्तरिक कार्यविधि सम्बन्धी प्रस्तावमा २ वटा संशोधन प्रस्ताव दर्ता भएका थिए । यस्तै नाम लुम्बिनी फेर्ने सम्बन्धमा एउटा संशोधन प्रस्ताव पेस भएको थियो । नेपाली कांग्रेसकी सांसद पुष्पा थरुनीले अस्थायी मुकाम रुपन्देहीलाई नै स्थायी राजधानी तोकियोस् भन्ने संशोधन प्रस्ताव दर्ता गरेकी थिईन ।

यस्तै कांग्रेसकै सांसद रमा अर्यालले प्रदेशको स्थायी राजधानी तोक्न वैकल्पिक प्रस्ताव दर्ता गराएकी थिईन । उनले पूर्वमा नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका, उत्तरमा पाल्पाको तिनाउँ गाउपालिका, दक्षिणमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका र पश्चिममा कपिलवस्तुको शिवराज नगरपालिकाको बीच भागमा राजधानी तोक्नु पर्ने प्रस्ताव गरेकी थिईन ।

प्रदेशसभा सचिवालयका अनुसार बिहान साढे आठ बजेसम्म जनता समाजवादी पार्टी, नेपालका तर्फबाट प्रदेशको नाम थारुहट–अवध–मगरात नामाकरण गर्न माग गर्दै संशोधन दर्ता भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial