
भैरहवाँ /रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ५ को बुचीमा बुधवार एउटा बीओपी (बोर्डर आउट पोस्ट) थपिएको छ । सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यावासीनी वाहिनी मुख्यालय रुपन्देहीका बाहिनी पति सशस्त्र प्रहरी नायब महानिरीक्षक किशोर प्रधान र रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले एक कार्यक्रमका बिच बीओपी उद्धघटन गरेका छन् । जसमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ३५ जना प्रहरी रहने छन् ।
सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रधानले बीओपी स्थापना पछि यस क्षेत्रको शान्ति सुरक्षा थप मजबुत हुने बताए ।
उनले भने, ‘सीमा अपराध, चोरीतस्करी, लुटपाट, चेलिबेटी बेचविखन, अपहरण, हत्याहिंसा, लागूऔषध तथा अवैध हातहतियार ओसारपसार नियन्त्रण, भूमि र सीमास्तम्भ रक्षा लगायत स्थानीय नागरिकलाई शान्ति सुरक्षा प्रदान गर्न यो बीओपीले मद्दत पुग्ने छ ।’
सशस्त्र प्रहरीले भूकम्प, बाढीपहिरो, आँधिहुरी, सीमा सुरक्षा लगायत हरेक विपती र मुलुकको रक्षाका लागि महत्वपूर्ण भूमिका निभाउँदै आएको जानाउँदै सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रधानले आगामी दिनमा पनि त्यस किसिमका गतिविधिमा इमान्दारीपूर्वक लागि पर्ने बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी पित्मबार घिमिरेले सीमा रक्षा र अपराधिक गतिविधि नियन्त्रणका लागि यहाँको बीओपीले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
रोहिणी गाउँपालिकाका अध्यक्ष यादवले बीओपी स्थापना पछि रोहिणीबासीले सुरक्षाको थप प्रत्याभूति गर्न पाउने बताए ।
उनले भने, ‘विगतमा छाप्रोमा बसेर घामपानी नभनी सशस्त्रले मुलुकको शान्ति सुरक्षाका लागि काम गर्दै आएको छ। अबका दिनमा पनि सीमा क्षेत्रमा थपिने यस किसिमका बीओपीले थप शान्ति सुरक्षा मजबुत पार्न सहयोग पुग्ने छ।’
बुचीमा स्थापना भएको बीओपीले पूर्वमा नवलपरासीको सीमाना एवं पश्चिम बगेला नालासम्म करिब ६ किलोमिटर दूरीमा पर्ने मुख्य सीमा स्तम्भ ५१० देखि ५१३ नं. को रेखदेख र सुरक्षा एवं संरक्षण गर्ने छ । बीओपीको रोहिणी वडा नं. ४, ५, ६, ओमसतिया गाउँपालिकाको वडा नं. ६ तथा देवदह नगरपालिकाको वडा नं. ११ कार्यक्षेत्र रहेको सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रधानले जानकारी दिए । रुपन्देहीमा पहिलो चरणमा सिसहवा, ठर्की, पन्चबारे र थुमहवामा बीओपी स्थापना गरिँदैछ । रुपन्देहीमा भारतसँग सीमा जोडिएको क्षेत्र ५९.७ किलोमिटर छ । सीमा क्षेत्रमा विभिन्न चरणमा २५ ओटा बीओपी स्थापना गरिने र चालु आवमा ५ वटा बीओपी स्थापना गर्ने लक्ष्य राखिएको सशस्त्र प्रहरी बल नं. २७ गण हे.क्वा. का प्रमुख एसपी तेज पोखरेलले बताए ।
२५ वटै बीओपी स्थापना हुँदा भारतसँगको सीमा क्षेत्रमा प्रत्येक २.५ किलोमिटरको दूरीमा सशस्त्रको बीओपी रहनेछन ्। यसले शान्ति सुरक्षामा राम्रो सहयोग पुग्ने विश्वास गरिएको छ। बीओपी स्थापना कार्यक्रममा पुगेका सुरक्षा निकायका अधिकारीले नेपाल भारत सीमा क्षेत्रको अवलोकनसमेत गरेको थिए।