कोरोना भाइरसको खतरा सुरक्षा संयन्त्रमा।

अबिन मेयाङ्ग्बो,दमक/ कोरोना भाइरस (कोभिड– १९) का कारण लगभग चार महिनादेखि संसारको गति रोकिएको छ । कोरोना महामारीपछि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई महामारीसँग देशका नागरिक बचाउनुपर्ने जिम्मेवारी थपिएको छ ।

यतिबेला प्रत्येक जिल्लाको गौँडागौँडामा सुरक्षाकर्मी परिचालन छन् । पर्याप्त मात्रामा स्वास्थ्य सुरक्षा उपकरण बिनै फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मी कोरोनाको उच्च जोखिममा रहेका छन् । फिल्डमा खटिँदा अन्यको सम्पर्कमा रहने हुँदा उनीहरु उच्च जोखिममा मात्रै छैनन् हालसम्म तीनवटै सुरक्षा निकायका ५१ सुरक्षाकर्मी संक्रमित भइसकेका छन् ।

सरकारले सर्वसाधारणलाई घरबाट बाहिर ननिस्किन भनिरहँदा त्यही कुरा पालना गराउन उनीहरु सडकमा खटिएका हुन् । दैनिक मानिससँग सम्पर्क भइरहेको छ उनीहरुको । यदि कुनै यसैगरी सम्पर्कका आएका मानिसमा कोरोना संक्रमण रहेछ भने उनीहरुपनि स्वाभाविक रुपमा जोखिममा पर्छन् ।

सडकमा खटिएका अधिकांश प्रहरीको एउटै गुनासो छ, ‘कोरोना रोक्न सरकारले हाम्रो सुरक्षाको ख्यालै नगरी खटाएको छ । दिनहुँ सयौँ व्यक्तिसँग सम्पर्क हुन्छ । १० रुपैयाँको मास्क लगाएर हामी कसरी सुरक्षित हुने ?’

३३ प्रहरी र ५ जना सशस्त्र प्रहरी कोरोना संक्रमित

लकडाउनको ७६ औँ दिनसम्म आइपुग्दा कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रणका लागि अग्रभागमा खटिएका ३३ जना प्रहरी अधिकृत तथा जवान कोरोना भाइरसबाट संक्रमित भएका छन् । त्यसमध्ये प्रदेश २ मा खटिएका मात्रै २२ जना छन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता निरजबहादुर शाहीका अनुसार संक्रमितमध्ये १४ जना प्रहरी निको भएर होम क्वारेन्टाइनमा छन् । बाँकीको विभिन्न अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।

प्रदेश २ मा प्रहरी निरीक्षकसहित २२ जनामा संक्रमण देखिएको र त्यसमध्ये ७ जना निको भएर ब्यारेकमै आराम गरिरहेका शाहीले बताए । उनका अनुसार २ नम्बर प्रदेशसभामा खटिएका प्रहरीका ५ मर्यादापालक समेत संक्रमित छन् ।

कोरोना संक्रमणको विपदका बेला नेपाली सेना र सशस्त्र प्रहरी बल मुख्य जिम्मेवारीमा छ । लकडाउनको कार्यान्वायनदेखि सीमा क्षेत्रको निगरानी र क्वारेन्टाइन व्यवस्थापनसम्म उनीहरुको जिम्मेवारीमा छ ।

आफ्नो जिम्मेवारीलाई मध्यनजर गर्दै नेपाली सेना र सशस्त्र प्रहरी बल नेपाल आफ्ना सम्पूर्ण ड्यूटीलाई उच्च सतर्कतामा राखेर यस विरुद्धको अभियानमा सक्रिय छ ।

सरकारले लागू गरेको लकडाउनमा अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आग्रह गर्दै तीनवटै सुरक्षा निकायले स्थानीय स्तरमा समेत जनचेतनामा अभिवृद्वि गर्न माईकिङलगायत विभिन्न प्रयासहरु गरिरहेको छ ।

सीमा सुरक्षा र लकडाउन कार्यान्वयनमा खटिएका सशस्त्र प्रहरी बलका कर्मचारीहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । ५ जना सशस्त्र कर्मचारीमा कोरोना देखिएको सशस्त्र प्रहरी मुख्यालयले जनाएको छ ।

सशस्त्र प्रहरीका डीआईजी तथा प्रवक्ता प्रविण कुमार श्रेष्ठका अनुसार कपिलवस्तुमा दुईजना, काठमाडौँमा एकजना, तहह्रथुममा एकजना, झापामा एकजनामा कोरोना संक्रमण देखिएको हो । जसमा तेह्रथुममा देखिएका कर्मचारी निको भएर फर्किसकेको डीआईजी श्रेष्ठले बताए ।

घरबाट ड्युटी गर्नेलाई घरपायक पर्ने स्थान मिलाएको डीआईजी श्रेष्ठले बताए । यसरी ड्युटी गर्दा ब्यारेकमा भएका र घरबाट आउनेमा संक्रमण भइहाले नफैलिने आशंकाले यस्तो गरिएको उनको भनाइ छ ।

१३ जना नेपाली सेना संक्रमित

लकडाउनको ७६ औँ दिनसम्म आइपुग्दा सीमा सुरक्षादेखि क्वारेन्टाइनको मुख्य जिम्मा पाएको नेपाली सेनाका १३ जना संक्रमित भएको सैनिक मुख्यालयले जनाएको छ ।

नेपालभित्र ७ जना मात्र संक्रमित भएको सेनाका सहाकरथी तथा सैन्य प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । जसमा ६ जना गण्डक अस्पताल र एक जना धनुषामा संक्रमित रहेको पाण्डेको भनाइ छ ।

यस्तै मिसनमा गएका नेपाली सेनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । प्रवक्ता पाण्डेका अनुसार साउथ सुडान गएका ३ जना, कारमा २ जना र मालि मिसन गएका २ नेपाली सेनाका कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमण देखिएकामध्ये ४ जना निको भइसकेको पाण्डेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial