खाडीका राजदुतहरुको प्रश्न महङ्गो चार्टर्ड किन?

अबिन मेयाङ्बो,दमक । मलेसिया र अरबलगायतका श्रम गन्तव्य मुलुकमा समस्यामा परेका कामदारहरु स्वदेश फर्काउन  सरकारले शुक्रबारदेखि चार्टर्ड उडान थाल्ने बताएको थियो । तर, सरकारकाे तयारी माथि मलेसिया, कतार र साउदी अरेबियामा कार्यरत नेपाली राजदूतहरुले नै गम्भीर प्रश्न उठाएका छन।                                                        

अधिकांश कामदाहरुलाई रोजगारदाता कम्पनीले नै टिकट काटेर पठाउनुपर्ने र कतिपयको हातमा टिकटसमेत भइसकेको अवस्थामा सरकारले किन महंगोमा चार्टड विमानमार्फत् ल्याउन लागेको भन्ने प्रश्न राजदूतहरुले उठाएका छन।

श्रम रोजगार तथा पत्रकार समूहले शुक्रबार गरेको भर्चुुुुअल  छलफलमाा साउदी अरेबियाका लागि नेपाली राजदूतडा. महेन्द्रप्रसाद सिंह राजपुतले भने ‘टिकटको पैसा भुक्तानीको कुरा पेचिलो छ । कुनै पनि श्रमिक साउदी आउँदा गरिने श्रम करारमा फिर्तीको व्यवस्था रोजगारदाताले नै गर्ने भन्ने हुन्छ । कतिपय रोजगारदाताले भिसा अवधि सकिएकाको केही महिना पहिल्यै टिकट काटिदिइसकेको छ । अब त्यही दररेटको टिकट अहिले मान्य हुन्छ कि हुँदैन ? त्यो हामीले सल्टाउनुपर्छ ।’

त्यसैगरी मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डे भन्छन्, ‘मलेसियामा चारवटा एयरलाइन्सले नियमित उडान गरिरहेका थिए, तिनलाई अब फेरि व्यवसायिक नियमित उडानका लागि स्वीकृति दिए प्रतिस्पर्धा हुन्छ, मूल्य तोक्छन्, जसलाई यहाँबाट जानु छ, उहाँहरुले सम्बन्धित एयरलाइन्समा सम्पर्क गरेर सजिलै टिकट लिएर जानुहुन्छ । त्यसो भयो भने धेरैखालको जटिलता हुँदैनथ्यो । हामी अहिले पनि त्यही माग गरिरहेका छौं । तर, सरकारका तर्फबाट अहिलेसम्म चार्टर्ड फ्लाइटकै कुरा आइरहेको छ ।’

कतारका लागि नेपाली राजदूत डा. नारदनाथ भारद्वाज भन्छन्, ‘सरकारले हामीलाई चाटर्ड फ्लाइटबाट लैजाने भनेको छ । यहाँ कम्पनीले टिकट काट्ने अवस्था भएकालाई कम्पनीले नै सुविधा दिएको छ । अब उनीरुको टिकट फेरि फर्काएर नयाँ टिकट लिइदिने कुरा निकै जटिल छ । यो चार्टर्ड फ्लाइट महंगो हुन्छ, किन हामी महंगोमा कामदार पठाउने भन्ने रोजगारदाता पनि छन् । उनीहरु नियमित फ्लाइट नै कुरिरहेका छन् । कम्पनीले महंगो चार्टर्ड फ्लाइटको खर्च बेहोर्न नसक्ने भनेको छ ।’

नेपाल सरकारले गत साता तयार पारेको ‘नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी कार्य योजना २०७७’ मा विदेशबाट उद्धार भई त्रिभुवन विमानस्थलमा आउने नागरिकले पीसीआर परीक्षणको एक साता नकटेको रिपोर्ट देखाउनुपर्ने भनिएको छ । तर, कतारका लागि नेपाली राजदूत भारद्वाज त्यसो गर्न सम्भव नभएको बताउँछन् ।

राजदूत भारद्वाज भन्छन्, ‘हामीले चाहँदैमा नेपाल जानेको आरडीटी र पीसीआर टेस्ट गर्ने सुविधा दिन नसकिने कतार सरकारले भनेको छ । भारतले गरेको यस्तै आग्रह पनि स्वीकार्न नसकिएको जानकारी आएको छ । हामीले थर्मल टेस्ट गरेर मात्रै कामदारलाई स्वदेश लैजानुपर्ने देखिन्छ । यहाँ गरिने परीक्षण सस्तो र सहज छैन ।’ त्यसैले अहिले थर्मल टेस्ट गराएरै कामदार पठाउनुपर्ने हुन सक्छ ।

तीन देशमा कार्यरत राजदूतहरुको कुरा सुन्दा आजभोलि नै चार्टर्ड विमानबाट नेपाली कामदारहरु स्वदेश फर्काउन सक्ने स्थिति देखिएन । सुनौं, राजदूतका भनाइ उनीहरुकै शब्दमा-

महंगो चार्टर्ड गर्नुभन्दा व्यवसायिक उडान खोलौं

उदयराज पाण्डे (मलेसियाका लागि नेपाली राजदूत)

मलेसियामा दूतवासमा ६ हजार ३ सय ४३ जनाले सम्पर्क गरेर घर फर्किनुपर्ने कारणहरु बताउनुभएको छ । त्यसलाई प्राथमिकताका आधारमा सूचीकृत गरेका छौं । त्यसमा बिरामी र गर्भवतीहरु २०१ जना, करार अवधि सकिएका ३ हजार १७५, रोजगारी गुमेका १ हजार २६, राजीनामा गरेर घर जान चाहने ९२२ र लामो विदामा घर जान चाहने १०५ जना छन् ।

एउटा नयाँ परिवर्तन आयो । विगतमा समस्यामा परेकाहरुलाई फर्काउनुपर्छ भनेर हामीले अलि अघिबाटै र्फम भराउने र सूचना लिने काम गरिरहेका थियौं । तर, त्यतिबेला जाने ईच्छा व्यक्त गर्नेहरु धेरै थिए । किनकि नेपालमा संक्रमण कम थियो, मलेसियामा बढिरहेको थियो । तर, दुई हप्तादेखि मलेसियामा संक्रमणको दर घट्दैछ र नेपालमा बढ्दैछ । यस कारणले पनि होला, विगतमा कतिपय घर जाने मनासय बनाउनुभएकाहरु पनि अहिले यतै बसौं कि भन्ने सोचमा देखिनुभएको छ । कतिपय भिसा थपेर काम गर्ने मानसिकतामा पुगेका छन् ।

हामीले पनि मिल्नेहरुलाई यतै बसेर काम गर्नुस्, स्थिति सहज भएपछि जानु उचित हुन्छ भनेर सल्लाह दिएका छौं । श्रमिकले मनस्थिति परिवर्तन गर्दा अब र्फम भरेकाहरुलाई पनि रि-चेक गर्नुपर्ने भएको छ । हामी त्यही काम गर्दछौं ।

हामीले नेपाल सरकारलाई सुरुबाटै लिखित र मौखिक रुपमा एउटा अनुरोध गर्दै आएका छौं, यदि सबैभन्दा सजिलो रुपमा नेपालीलाई घर जाने वातावरण बनाउने हो भने रोकिएको व्यवसायिक उडान खोल्नुपर्छ ।

मलेसियामा ४ वटा एयरलाइन्सले नियमित उडान गरिरहेका थिए, तिनलाई अब फेरि व्यवसायिक नियमित उडानका लागि स्वीकृति दिए प्रतिस्पर्धा हुन्छ, मूल्य तोक्छन्, जसलाई यहाँबाट जानु छ, उहाँहरुले सम्बन्धित एयरलाइन्समा सम्पर्क गरेर सजिलै टिकट लिएर जानुहुन्छ । त्यसो भयो भने धेरैखालको जटिलता हुँदैनथ्यो । हामी अहिले पनि त्यही माग गरिरहेका छौं ।

सरकारको तर्फबाट अहिलेसम्म चार्टर्ड फ्लाइटकै कुरा आइरहेको छ, चार्टर्ड फ्लाइट नै गर्ने कुरा हो भने समयमै हामीलाई त्यसबारे जानकारी आउनुपर्छ । अहिले हामी नेपाल सरकारले कुन मोडालिटीमा कहिले जहाज पठाउने हो र कहिलेबाट उद्धारको अनुमति दिने हो, त्यही कुरिरहेका छौं ।

हामी त विमान आउने हो भने ४/५ दिनपछि नै पठाउन थाल्न सक्छौं । तर, सरकारले व्यवसायिक उडान खोल्दियो भने वायुसेवा कम्पनी र ट्राभल एजेन्टहरुले दररेट राखेर टिकट खुला गर्थे ।

यहाँ त धेरैको कम्पनीहरुले टिकट काटिदिएको अवस्था छ, ती टिकटहरुलाई अहिले मिति सार्दै राखिरहेको अवस्था छ । व्यवसायिक उडान खोल्दिने हो भने त्यो टिकट उपयोग हुने थियो ।

हैन, चार्टर्ड फ्लाइट नै आउने हो भने हामीलाई कम्तिमा ७ दिनअघि खबर चाहिन्छ । यो दिनमा, यति सिट संख्याको जहाज आउँछ भनेर जानकारी आएपछि हामी त्यहीअनुसार यहाँ तयारी गर्छौं । अब कसैको जाने चाहाना भएर पनि पैसा जुटाउन नसक्ला, पहिलो फ्लाइटमा जसले जुटाउन सक्छ, उसलाई हाल्नुपर्ला ।

अहिले र्फम भरेकाहरुले भोलि नजाने भन्ने अवस्था पनि आउन सक्छ । हामीले प्राथमिकतामा राखेकाले त्यसो गर्नुभयो भने त नेपालबाट फ्लाइट आउने अनि हामीले यहाँ मान्छे पुर्‍याउन नसक्ने, टिकट पूरा नहुने, मूल्यमा असमझदारी हुने लगायतका समस्याहरु उत्पन्न हुन सक्छन् । सजिलो उपाय भनेको त रेगुलर र कमर्सियल फ्लाइट खुलाउँदा नै हुन्छ ।

यहाँबाट हामीले अस्ति ७० दिनदेखि एयरपोर्टमा अलपत्र एकजनालाई विश्व खाद्य कार्यक्रमको विमान आफ्नो प्रतिनिधि लिन जाँदैछ भन्ने थाहा पाएर नेपाल पठायौं । तर, यस्तो अरु फ्लाइट पनि जान सक्ने सम्भावना छ । त्यस्तोमा निःशुल्क लैजाने सम्भावना हुन्छ । हामीले यसबारे पनि सरकारसँग कुरा गरेका छौं । सरकारले यस्ता फ्लाइट गर्ने संस्थालाई तपाईंले नेपाली ल्याइदिनुभयो भने हामी सहजै स्वीकार गर्छौं भनेर अनुरोध पत्र दिनुपर्छ ।

मलेसियामा अहिले कतिपयको काम गुमेको छ, कतिपय गैरकानूनी हैसियतमा हुनुहुन्छ, कतिपयले तलब पाउनुभएको छैन, कतिपयले कम्पनीबाट ‘चेक-आउट’ लिइसक्नुभएको छ । उहाँहरुलाई अहिले हामीले भनेर कम्पनीमा खाने बस्ने सुविधा दिलाएका छौं । नपाउनुभएकालाई दूतावास, एनआरएनए र अन्य नेपाली संघ संस्थाको सहयोगले खाने बस्ने व्यवस्था गरेका छौं ।

धेरै दिन यसरी होल्ड गरेर राख्न सक्दैनौं । डिर्पोटेसन सेन्टरमा २४६ जना जुनसुकै दिन घर पठाउन सकिने अवस्थामा हुनुहुन्छ । उहाँहरुलाई नेपाल पठाउनैपर्ने हुन्छ ।

चार्टर्ड फ्लाइट महंगो हुन्छ, कामदारको थर्मल टेस्ट मात्रै सम्भव छ

डा. नारदनाथ भारद्वाज (कतारका लागि नेपाली राजदूत)

नेपाल सरकारले आपत-विपदमा रहेका नेपालीलाई उद्धार गर्ने बताएपछि यहाँ धेरै संख्यामा नेपालीहरुले घर फर्किने इच्छा जाहेर गर्नुभएको छ । र्फम भरेका ७ हजार नेपाली नेपाल फर्किने अवस्थामा हुनुहुन्छ । यो जटिल स्थितिमा रहेका मान्छेहरुको संख्या हो ।

यहाँ गर्भवतीहरु, रोजगारदता परिवर्तन गरेका महिला, अवैध भएका कामदार, भिसा सकिएर घर जान तयार मान्छेहरु, कार्यस्थलमा दुर्घटनामा परेका कामदारहरु, पक्षघात भएका र सेमी प्यारालाइज्ड भएका बिरामी, होटल म्यानेजमेन्ट पढ्न आएर अलपत्र विद्यार्थीसमेत गरेर करिब ७ हजार नेपालीहरु स्वदेश फर्किने अवस्थामा छन् । उनीहरुलाई कसरी फर्काउने भनेर सरकारसँग सम्वाद भइरहेको छ ।

अन्यत्र जस्तै सरकारले हामीलाई चार्टर्ड फ्लाइटबाट लैजाने भनेको छ । हामी गृहकार्य गरिरहेका छौं । यहाँ पनि उड्न ठिक्क परेको अवस्थामा लकडाउन भएपछि समस्यामा परेका थुप्रै कामदार छन् । विभिन्न हवाईं कम्पनीका टिकट उनीहरुका हातमा छन् । यी मान्छेहरु टिकट काटिसकेका छन् । कम्पनीले टिकट काट्ने अवस्था भएकालाई कम्पनीले नै सुविधा दिएको छ । अब उनीरुको टिकट फेरि फर्काएर नयाँ टिकट लिइदिने कुरा निकै जटिल छ ।

यो चार्टर्ड फ्लाइट महंगो हुन्छ, किन हामी महंगोमा कामदार पठाउने भन्ने रोजगारदाता पनि छन् । उनीहरु नियमित फ्लाइट नै कुरिरहेका छन् । कामदार त तत्कालै घर जाने अवस्थामा छन् । तर, कम्पनीले महंगो चार्टर्ड फ्लाइटको खर्च बेहोर्न नसक्ने भनेको छ ।

यो अवस्थालाई हेर्दा व्यवस्थित गरिसकेका फ्लाइटलाई यथावत आउन दिने वा ट्रान्जिट प्यासेन्जरका रुपमा नेपालीलाई नेपालसम्म कसैले लगिदिने अवस्था छ भने त्यो विकल्पमा पनि सोच्नुपर्छ ।

हुन त हामीले जसरी पनि मान्छेलाई लैजानुपर्ने अवस्था छ । किनभने ६/७ हजार मान्छे लैजाँदा मात्रै यहाँको आपतकालीन अवस्था समाधान हुन्छ । यहाँ ७/८ महिनाका गर्भवतीहरु छन्, कतिपयको आकस्मिक सर्जरी उपचार गर्नुपर्ने अवस्था छ । कोरोनामा फोकस भएकाका कारण कोभिड बाहेकका बिरामीका अपरेसनहरु यहाँका अस्पतालले गरेका छैनन् । उनीहरु पीडा खपेर बसेका छन् । कतिपय पक्षघात भएकाहरु छन्, जसलाई पारिवारिक केयरको जरुरी छ ।

यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा सरकारले छिटोभन्दा छिटो व्यवस्थापन गरेर हामीलाई निर्देशन दिएमा हामी  यहाँ गर्नुपर्ने पूर्वतयारीमा काम हामी गर्न सक्छौं । त्यसका लागि एकहप्ता समय चाहिन्छ ।

त्यस्ता उद्धार हुने कामदारको सूची यहाँको विदेश मन्त्रालयको शिष्टाचार विभागमा पठाउनुपर्छ, त्यसपछि उनीहरुको कुनै कामदारमाथि कुनै कानूनी केस छ कि छैन हेरेर कतार सरकारले क्लियरेन्स दिन समय लाग्छ । अन्तिममा नागरिक उडड्यन प्राधिरकणको अनुमति लिएर मात्रै उडाउन सकिन्छ ।

अहिले विभिन्न एसियन देशले यहाँबाट कामदार लिएर गइरहेका छन् । भारत, बंगलादेश, फिलिपिन्स लगायत देशले पनि यस्तो गरिरहेका छन् । उनीहरुले जुन भाडा लिएका छन्, त्यो पनि हेर्नुपर्छ, भारतले चेन्नई जान ८ सय र अन्यमा जान १३ सय रियाल भाडा लिएको रहेछ । हामीले पनि त्यस्तै १५/१६ सय रियालभन्दा बढी भाडा लिएर पठाउन सक्ने अवस्था हुँदैन । चार्टड फ्लाइट त्यसका लागि कति उपयोगी हुन्छ ? चार्टर्ड गर्दा यहाँको टिकेटिङदेखि ग्राउन्ड ह्यान्डेलिङसम्म व्यवस्थापन गर्नुपर्छ । यो दूतावासले गर्न सक्दैन ।

हामी त पठाउनुपर्ने कामदारको सूची सरकारलाई दिन सक्छौं । जति सक्दो छिटो मिति घोषणा हुन्छ र स्वदेश फिर्तिको मोडालिटी सरकारले तोक्छ, हामी त्यति छिटो काम गर्न सक्छौं ।

अनि हामीले चाहँदैमा नेपाल जानेको आरडीटी र पीसीआर टेस्ट गर्ने सुविधा दिन नसकिने कतार सरकारले भनेको छ । हामीले थर्मल टेस्ट गरेर मात्रै कामदारलाई स्वदेश लैजानुपर्ने देखिन्छ । मैले यहाँको सरकारसँग कुरा गर्दा भारतले गरेको यस्तै आग्रह पनि स्वीकार्न नसकिएको जानकारी आएको छ । यहाँ गरिने परीक्षण सस्तो र सहज छैन । त्यसैले अहिले थर्मल टेस्ट गराएरै कामदार पठाउनुपर्ने हुन सक्छ ।

स्वास्थ्य परीक्षण, टिकट, फ्लाइट र दररेटबारे स्पष्ट निर्देशन चाहियो

डा. महेन्द्रप्रसाद सिंह राजपुत (साउदी अरेबियाका लागि नेपाली राजदूत) 

साउदीको भूगोल विशाल छ । २१ लाख वर्गकिलोमिटरको कार्यक्षेत्र हो । कामदार छरिएका छन् । साउदीमा त्यस्तो गाउँ या शहर छैन, जहाँ एक न एक नेपाली नहोस् । सबैमा उहीखालको त्रास छ, कोरोनाको । आश एउटै छ, घर फर्किन पाउँछु कि भन्ने ।

ठूलो भूभाग भएकाले पनि हामीलाई चुनौतीको अवस्था आउँछ । ३ लाख ५ हजार त वैधानिक नेपाली कामदार छन्, १०/१५ हजार श्रमिक अवैध पनि होलान् । अब ३ लाख २५ हजार जति नेपाली कामदारमा धेरैजसो अदक्ष छन् । अर्धदक्ष र दक्ष त अत्यन्तै न्यून संख्यामा छन् । अर्धदक्ष र अदक्ष कामदारलाई यो स्वदेश फिर्ताको प्रक्रियामा समेटेर ल्याउनु सहज छैन । उनीहरुबाट प्राप्त हुने तथ्यांकलाई प्रशोधन गरेर प्राथमिकता निर्धारण गर्नु चुनौतीपूर्ण छ ।

यो एउटा अवसर पनि हो, दुःखमा परेकालाई मद्दत गर्न पाउनु मानवीयताका हिसावले पुण्य पनि हो । हामी त्यही भनेर उत्रिएका छौं । सरकारले स्वदेश फिर्तिका लागि दिएका १५ वटा प्राथमिकता छ । त्यसअनुसार अहिले हामी तथ्यांक लिइरहेका छौं । दुईवटा विशेष टेलिफोन लाइन २४ घण्टा खुला राखिएको छ । ह्वाट्स एप छ, विभिन्न लिंकहरु दिएका छौं ।

अहिले विश्व नै कोभिडसँग जुधिरहेको छ ।साउदी अरेबियामा रहेका नेपालीहरु पनि यसबाट आक्रान्त छन् । त्यस कारण अहिले स्वदेश फिर्ती एक मात्रै मागका रुपमा आइरहेको छ । स्वाभाविक छ, हामीले अहिलेसम्म सरकारलाई यहाँको धरातलीय यथार्थताको जानकारी गराउँदै आयौं, सरकारले पनि आफ्नो सम्वेदनशीलता प्रकट गर्‍यो । दुःख पाएका नेपालीलाई छिटो उद्धार गरेर ल्याउनुपर्छ भनेर केही प्राथमिकताका सूची निर्धारण भयो । त्यो प्राथमिकतामा सामेल सूचीलाई विचार गर्दै कामदारको स्वदेश फिर्तिका लागि हामी तयारी अवस्थामा आइपुगेका छौं । अब यो प्रक्रियालाई सहजीकरण अभ्यासमा दूतावास लागेको छ । हामी काममा दिन-रात नभनी जुटेका छौं ।

विभिन्न माध्यमबाट हामीले करिब-करिब १० हजारभन्दा बढी कामदारको जानकारी पाएका छौं । त्यो कच्चा तथ्यांक हो । मापदण्ड अनुसार त त्यो १५ वटा प्राथमिकता कुनै खास देशको हकमा सयप्रतिशत नमिल्न पनि सक्छ । मुख्य प्राथमिकतालाई हेरेर १० हजारको सूची तयार गर्न सकेका छौं । अहिले दिनौं सयकडौंको संख्यामा स्वदेश फर्किन चाहानेको नाम थपिँदैछ ।

प्राप्त तथ्यांकलाई प्राथमिकीकरण गरिरहेका छौं । करिब-करिब आफ्नो तहमा हामी तम्तयार छौं । अब सरकारबाट यो दिन, यति दर रेटमा यतिवटा फ्लाइट साउदीले पाउने भयो भनेर पहिले नै सूचना पायौं भने स्वदेश फर्काउने काम सुरु गर्न सक्छौं । हामीले सूची तयार गरे पनि फाइनल गर्न सकेका छैनौं ।

मानौं कि १० वटा फ्लाइट हामीले पायौं भने त्यसअनुसार यहाँ श्रमिकको समस्याअनुसारको प्राथमिकीकरण गरेर सूचीलाई अन्तिम रुप दिन्छौं । फ्लाइटको सिट संख्यमा आधारमा सूची तयार हुन्छ । त्यो काममा हामी जुटिरहेका छौं । अहिले अञ्दाजका आधारमा हामीले नम्बर १, नम्बर २, नम्बर ३ गरेर ४/५ वटा फ्लाइटको सूचीको मस्यौदा बनाएका छौं ।

तर, पनि फ्लाइटबारे बेलैमा सूचना पाइएन भने समस्या हुन सक्छ । हामीले पूर्वतयारी राम्रोसँग गर्न पाउनुपर्छ । हरेक चिज क्लियर हुनुपर्छ, मितिको घोषणा पहिल्यै हुनुपर्छ । हाम्रो आग्रह १०/१२ दिन पहिला नै यो जानकारी दिनुपर्छ भन्ने हो । टिकटको मूल्य कति हो, स्पष्ट हुनुपर्छ । कति सिट संख्याको प्लेन हो भन्ने निश्चत हुनुपर्छ ।

हामीले कामदारको उद्धार गर्ने भनेका छौं । यहाँ कोही श्रमिकले त ‘उद्धार’ हो भने मैले पैसा किन तिर्ने ? भनिरहेका छन् । हामीले यसलाई ‘स्वदेशी फिर्ती’ भनेर नाम दिँदा हामीलाई सहज हुन्थ्यो । यसले गर्दा पनि कन्फ्युजन गराइरहेको छ ।

टिकटको पैसा भुक्तानीको कुरा पनि पेचिलो छ । कुनै पनि श्रमिक साउदी आउँदा गरिने श्रम करारमा फिर्तीको व्यवस्था रोजगारदाताले नै गर्ने भन्ने हुन्छ । कतिपय रोजगारदाताले भिसा अवधि सकिएकाको केही महिना पहिल्यै टिकट काटिदिइसकेको छ । अब त्यही दररेटको टिकट अहिले मान्य हुन्छ कि हुँदैन ? त्यो हामीले सल्टाउनुपर्छ ।

अहिले हामीले समस्यामा परेका ४/५ सय कामदारलाई आवासको व्यवस्था गरेका छौं । अहिलेसम्म सरकार, दूतावास, एनआरएनए र अन्य संघसंस्थाले यसमा संयुक्त प्रयास गरेको छ । तर, अब योखालको सहयोग लामो समयसम्म गर्न सकिन्न ।

यो त एउटा संकट हो, घर जान इच्छा गर्ने व्यक्ति धेरै छन् । स्वदेश जानैपर्ने र पठाउनुपर्ने व्यक्तिको सूचीमा पनि १० हजार जनाको नाम छ । यो सूची पनि उकालोतिर लागिरहेको छ । हामीले यसलाई बन्द गरेका छैनौं । अझै यो संख्या बढ्ने निश्चित छ ।

समय कहिले हो त यहाँबाट फर्काउन सुरु गर्ने ? त्यो समय हामीले पहिल्यै पाउनुपर्छ । यहाँ नेपाल पठाउन सरकारले दिएको प्राथमिकतामा मेल खाने एउटा सक्षम यात्रु तयार गर्नुपर्छ । त्यसका लागि टिकटको मूल्यको भुक्तानी बारेको झमेला सिध्याउनुपर्छ, दररेट कति हो र टिकेटिङ कहाँ गर्ने भन्ने विषय टुंगिनुपर्छ ।

नेपालबाट चार्टर्ड प्लेन आउने भनिएको छ । भारतले १३ सय रियालमा आफ्नो यात्रु लग्यो, हामीले कममा लैजाने कि बढीमा लैजाने ? बढी गर्दा कति बढी गर्ने ? त्यो त छिनोफानो गर्नुपर्छ । त्यसो भयो भने हामीलाई सहज हुन्थ्यो ।

साथै यहाँ ६० वटा पार्थिव शरीरको पनि सवाल छ । त्यो शरीरलाई पनि कसरी लैजाने भन्ने चिन्ता छ ।

उड्नुअघि कामदारको स्वास्थ्य परीक्षण गरेर ‘फिट टू फ्लाइ’ प्रमाणित हुनुपर्छ । अब त्यसका लागि कहाँ, कसरी, कसको खर्चमा कस्तो परीक्षण गराउने भन्ने पनि प्रष्ट निर्देशन हुनुपर्छ ।

स्वास्थ्य परीक्षण, टिकट, फ्लाइट, र त्यसको दररेटका बारेमा ‘यसरी जाऊ’ भनेर हामीलाई निर्देशित गर्नुपर्‍यो । फ्लाइटको मिति पनि चाहियो । हामी त निर्देशनअनुसार नै काम गर्ने संस्था हौं, निर्देशन अनुसार काममा उत्रिन तयार छौं ।

साभार:अन्लाईन खबर डट कम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial