आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको उपाध्यक्षमा होडबाजी।

अबिन लिम्बु,दमक। आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको रिक्त हरेको उपाध्यक्ष पदका लागि आकांक्षीहरुले सक्रियता देखाएका छन् ।

उपाध्यक्ष चन्द्रबहादुर गुरुङको गत वैशाख २६ गते र सदस्यसचिव गोविन्दलाल माझीको वैशाख २८ गते चार वर्षीय कार्यकाल सकिएसँगै प्रतिष्ठान नेतृत्वविहीन बनेको छ । ती पदहरुमा अहिले प्रतिस्पर्धा चलिरहेको छ ।

प्रतिष्ठानको उपाध्यक्ष कार्यकारी पद हो । प्रतिष्ठानको अध्यक्षमा प्रधानमन्त्री र सहअध्यक्षमा संघीय मामिला तथा स्थानीय विकासमन्त्री रहने व्यवस्था छ ।

उपाध्यक्ष कार्यकारी पद भएकाले सो पदका लागि आदिवासी जनजाति समुदायबाट नै एकजना नियुक्त गर्नुपर्ने हुन्छ । त्यसका लागि सहअध्यक्षको संयोजकत्वमा नेपाल आदिवासी जनजाति महासंघ र प्रतिष्ठानको सञ्चालक परिषदबाट चुनिएका एक प्रतिनिधि रहने प्रतिष्ठान ऐनमा व्यवस्था छ ।

सो व्यवस्था अनुसार सहअध्यक्ष हृदयेश त्रिपाठी (मन्त्री अध्यक्ष र नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बराम तथा सञ्चालक परिषदबाट निर्वाचित ज्ञानेन्द्र पुन सदस्य रहेको समितिले उपाध्यक्षका लागि सिफारिस गर्नेछ । मन्त्रिपरिषदबाट नियुक्ति हुनेछ ।

प्रतिस्पर्धामा को–को छन् ?
प्रतिस्पर्धामा पूर्वसभासददेखि जनजाति महासंघका उपाध्यक्षसम्म देखिएका छन् । नेताहरुले उनीहरुको नाममा लविङ गरिरहेको बुझिएको छ ।

पूर्वसभासद तथा जनजाति महासंघका पूर्वमहासचिव पेम्बा गुरुङ भोटे, जनजाति महासंघकै उपाध्यक्ष तथा नेपाल मगर संघका अध्यक्ष नविन रोकामगर, किराँत याक्थुङ चुम्लुङका पूर्वअध्यक्ष अर्जुन लिम्बू र लोकतान्त्रिक आदिवासी जनजाति महासंघका शरण राई प्रतिस्पर्धामा देखिएका छन् ।

पूर्वसभासद भोटे, लिम्बू र राई पूर्वएमालेका हुन् । रोका मगर पूर्वमाओवादीका हुन् ।

भोटे गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका खास मानिसका रुपमा गनिन्छन् । भोटे पृथ्वीसुब्बाको साथबाट अघि बढ्ने दाउमा छन् । उनी जनजाति महासंघको महासचिव हुँदै संविधानसभाको सभासद भएका थिए ।

त्यस्तै, अर्जुन लिम्बू पुख्र्यौली घर ताप्लेजुङ भए पनि अहिले झापाका मतदाता हुन् । उनी नेकपाका नेता तथा पूर्वसभामुख सुवास नेम्वाङ निकट मानिन्छन् । लिम्बू किरात याक्थुङ चुम्लुङको नेतृत्व गरिसकेका व्यक्ति हुन् । उनी अनेरास्ववियुको केन्द्रीय सदस्य समेत थिए ।

रोकामगर जनजाति महासंघका वर्तमान उपाध्यक्ष पनि हुन् । उनी मगर संघका केन्द्रीय अध्यक्ष पनि हुन् । उनी नेकपाका केन्द्रीय नेता हुन् । उनी उर्जा, जलस्रोत तथा सिचाईमन्त्री वर्षमान पुन निकटका हुन् ।

राई यसअघि पनि उपाध्यक्ष हुनका लागि पहल गरेका व्यक्ति हुन् । उनी पूर्वएमालेको लोकतान्त्रिक आदिवासी जनजाति महासंघका नेता हुन् ।

ओलिको बोली नै पक्का रहने।

प्रतिष्ठानको उपाध्यक्ष नियुक्तिका लागि प्रतिस्पर्धामा देखिएकाहरुको आआफ्नै दावी रहेको पाइएको छ ।

पूर्वसभासद समेत रहेका भोटेले आफ्नो मनको चाहना भएपनि लविङ गर्दै नहिडेको बताए । उनले भने, ‘पार्टीले उपयुक्त ठानेर जिम्मेवारी दिएमा स्वीकार्य हुन्छ ।’

नविन रोकामगरले भने आदिवासी जनजाति अभियन्ताको हैसियतले पार्टीले आफूलाई जिम्मेवारी दिएमा प्रतिष्ठानको नेतृत्व गरेर काम गर्ने चाहना रहेको बताए ।

अर्जुन लिम्बूले भने साथीहरुको सुझावका आधारमा आफूले पनि चाहना राखेको बताए । प्रतिष्ठानको गिर्दो साखलाई उचाईमा पुर्याउनका लागि सरकारले गम्भीर ढंगले निर्णय लिनेमा आफ्नो विश्वास रहेको बताए ।

प्रतिष्पर्धीहरुले आआफ्नो तर्फबाट लविङ गरेपनि अन्तिम निर्णय भने प्रतिष्ठानका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । प्रधानमन्त्रीले चाहेको व्यक्तिले मात्र उपाध्यक्षको नियुक्ति पाउने पक्का छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial