कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएकी महिलाको शिशुलाई आर्थिक सहयोग।

न्युज ब्यूरो,अमेरिका/ अमेरिकामा बस्दै आएका नेपाली युवा दिनेश खतिवडाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएकी महिलाको शिशुलाई आर्थिक सहयोग गरेका छन् ।

सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाकी २९ वर्षीया सुत्केरी महिलाको गत जेठ १ गते कोरोना संक्रमणका कारण निधन भएको थियो। उनी नेपालमा काेराेनाबाट ज्यान गुमाउने पहिलाे संक्रमित हुन् ।

हाल मेरिल्याण्डमा रहेका सिन्धुपाल्चोकको मेलम्ची निवासी खतिवडाले शिशुको लागि ५१ हजार १ सय ५१ रूपैयाँ सहयोग गरेका छन् । उनले सो रकम बैंक खातामा जम्मा गरिदिएका हुन् ।

आमाको कोरोना संक्रमणबाट ज्यान गएपनि नवजात शिशुमा भने कोरोना भाइरस नेगेटिभ देखिएको छ। अस्पतालकाे निगरानीमा रहेका शिशुको पौष्टिक आहार र हेरचाहमा सहयोग पुगोस् भनेर आफूले आर्थिक सहयोग गरेको खतिवडाले बताए।

मृतक महिलाले २४ वैशाखमा काठमाडौंको महाराजगन्जस्थित शिक्षण अस्पतालमा नर्मल डेलिभरीमार्फत बच्चा जन्माएकी थिइन् । त्यसको एक दिनअघि उनी अस्पताल भर्ना भएकी थिइन् । २५ वैशाखमा डिस्चार्ज भए पनि दुई दिन काठमाडौंकै डेरामा बसेर उनी २८ वैशाखमा बाह्रबिसेस्थित घर फर्केकी थिइन् ।

घर गएपछि उनलाई ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या देखिएको थियो । स्वास्थ्यमा समस्या आएपछि उनको सुरुमा स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गराइएको थियो । उनलाई सास फेर्न गाह्रो हुन थालेपछि एम्बुलेन्सबाट धुलिखेल अस्पताल लगिएको थियो । अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएकाे थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial