खोला दोहनको उचित छानबिन गर्न उप-प्रमुखको संयोजकत्वमा समिति गठन भएको छ-प्रजापति सापकोटा।

समाचार डेस्क,दमक/ झापाको दमकमा प्रहरी र राष्ट्रिय युवा संघ झापाका जिल्ला अध्यक्षको मिलेमतोमा खोला दोहन भएको पाईएको छ ।

दमक नगरपालिका वडा नं. १ र २ को सिमानामा पर्ने रतुवा खोलामा नयाँ बन्दै गरेको पुलमुनि प्रहरी र युवा संघका अध्यक्षको मिलेमतोमा खोला दोहन भएको पाईएको हो ।

स्थानीय कुमार राईले भने, ‘पुलमुनि नै धमाधम मापदण्ड विपरीत खोला दोहन भएपछि हामीले विरोध गर्दा मलाई पक्राउ गरियो, यहाँ मिलेमतोमा मात्र काम हुँदो रहेछ ।’ उनले राष्ट्रिय युवा संघ झापाका जिल्ला अध्यक्ष शम्भु भण्डारीको नेतृत्वमा र डीएसपी पण्डितको मिलेमतोमा खोला दोहन भईरहेको आरोप लगाए ।

उनका अनुसार मापदण्ड विपरीत विभिन्न मानिसहरुको मिलेमतोमा अहिलेसम्म ५ सय भन्दा बढी टिपरमा बालुवा उत्खनन् भएर गायब भएको छ । साथै ३ सय जति स्टक गरेर राखेको अवस्था रहेको उनले टाकुरालाई जानकारी दिए । खुलेआम रुपमा खोला दोहन भइरहेको भएपनि प्रहरीले बेवास्ता गरेको स्थानीयको आरोप छ ।

खोलाबाट बालुवा संकलन गर्नका लागि पुलको आसपास भन्दा ५ सय मिटर वरपर हुुनुपर्ने भएपनि पुल मुनि नै बालुवा दोहन भईरहेको स्थानीयले जानकारी दिएका छन् । बालुवा संकलनका लागि जिल्ला समन्वय समितिले सिफारिस गर्नुपर्ने भएपनि यहाँ वडाध्यक्षको हस्ताक्षरमा सिफारिस गरिएको छ । जुन मापदण्ड विपरीत रहेको छ ।

लकमल गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष डम्बरबहादुर निरौलाको हस्ताक्षरमा जारी एक पत्रमा भनिएको छ–‘यस कमल गाउँपालिका ५ र दमक १ मा पर्ने पुल निर्माण भईरहेको अवस्थामा कमल गाउँपालिकाका ५ नं. कै भागको पुलमुनि उक्त भागमा निकाश गर्न सिफारिस गरिएको छ ।’

जिससले सिफारिस गर्नुपर्ने भएको भएपनि वडाध्यक्षको हस्ताक्षरमा खोला दोहन गर्न खुलेआम रुपमा निर्देशन दिएपछि स्थानीय आक्रोशित छन् ।

उता, राष्ट्रिय युवा संघ झापाका अध्यक्ष शम्भु भण्डारीले भने आफ्नो गाडी भाडामा लगेको भन्दै आफ्नो बचाउ गरे । ‘पुलमुनिको मेटिरियल हटाउनुपर्ने हुन्छ,’ उनले भने, ‘त्यही भएर हाम्रो गाडी अरुले भाडामा लगेको हो ।’

यता, ईलाका प्रहरी कार्यालय दमकका डीएसपी विजय पण्डितले भने आँफूले अहिले जानकारी पाएपछि खोला दोहन हुने काम नभएको जिकिर गरे । उनले भने, ‘हामीकहाँ खबर आएर त्यो काम रोकेको छ, बाँकी कुरा थाहा भएन ।’ उनले कसले के गर्छन् आँफूलाई सबै थाहा नहुने भन्दै पन्छिने काम गरे ।‘सबैकुरा हामीलाई थाहा छैन, स्थानीय तहलाई थाहा हुन्छ, स्थानीय तहलाई बुझ्नुहोला,’ उनले भने ।

यसै बिषयलाइ लिएर दमक नगर उप-प्रमुख गीता अधिकारीको संयोजकत्वमा ५ सदस्य छानबिन समिति गठन भएको समेत वडा न.२को अध्यक्षले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial