
न्युज ब्यूरो,काठमाडौं । सरकारले लकडाउनको समयमा अत्यावश्यक पर्नेहरुका लागि सवारी पासको व्यवस्था गर्न सकिने स्पष्ट पारेको छ । गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी अत्यावश्यक पर्नेहरुका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राखी पुनः नयाँ सवारी पास लिन सकिने जानकारी दिएको हो ।मन्त्रालयले काठमाडौं उपत्यकाको हकमा जिल्ला प्रशासन कार्यालयको वेभसाइट ( daokathmandu.moha.gov.np) मा रहेको सूचना हेरी नियामक निकाय तोकिएको हकमा सम्बन्धित नियामक निकायसँग सम्पर्क राखी सवारी पास लिन सकिने र नियामक निकाय नतोकिएको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राखी पुनः सवारी वास लिन सकिने जनाएको छ ।
त्यस्तै सञ्चारकर्मीहरको हकमा साविकमा रहेको प्रावधान ‘प्रेस पास प्राप्त सञ्चारकर्मीहरु’लाई सवारी पास आवश्यक नपर्ने भन्ने व्यवस्थामा कुनै परिवर्तन नगरिएको मन्त्रालयले स्पष्ट पारेको छ । त्यस्तै मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा जाने गरी सवारी पास जारी गर्नुपर्ने भएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले गन्तव्य जिल्ला प्रशासन कार्यालयको पूर्व स्वीकृति लिएर मात्र सवारी पास जारी गर्नुपर्ने र काठमाडौं उपत्यकामा एक जिल्लाबाट जारी भएको पासले उपत्यकाकै अर्को जिल्लामा यात्रा गर्न बाधा नपर्ने जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौं उपत्यकाको हकमा उपत्यकाको एक जिल्लाबाट जारी भएको पासले उपत्यकाकै अर्को जिल्लामा यात्रा गर्न वाधा पर्ने छैन । काठमाडौं उपत्यकाको लागि सवारी पास जारी गर्नु पर्ने भएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयको पूर्व स्वीकृति लिएर मात्र सवारी पास जारी गर्ने ।’