
धरानः नेपाल विद्यार्थी संघ लगायत ६ विद्यार्थी संगठनले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई ज्ञापन पत्र बुझाउँदै भारतले अतिक्रमण गरेको भूमि फिर्ता ल्याउन माग गरेका छन् । ज्ञापनपत्रमा भनिएको छ ‘भारतको मिचाह र सरकारको लम्पसारवादी प्रवृत्ति खतरनाक छ । विद्यार्थीहरु लाई सडक आन्दोलनका लागि तयार रहन आग्रह गर्छौं ।’ संयुक्त विद्यार्थी आन्दोलनको तर्फबाट आइतबार संयुक्त ज्ञापत्र पत्र बुझाएका उनीहरूले नेपालको भूमि समावेश गरेर सरकारले छिटो नयाँ नक्सा सार्वजनिक गर्नुपर्ने पनि माग गरेका छन् ।
विज्ञप्तीमा भनिएको छ ‘नेपाली भूमि फिर्ता गर्न, भारतीय दादागिरी बन्द गर्न र नेपालको सार्वभौमिकतालाई सम्मान गर्न भारतीय शासकवर्गलाई संयुक्त विद्यार्थी आन्दोलनको तर्फबाट चेतावनी दिन्छौं ।’ विद्यार्थीले भारतीय दुतावासमा विरोधपत्र बुझाइने पनि बताएका छन् । नेविसंघ अध्यक्ष राजिव ढुंगाना, अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवि ढकाल, अखिल पाँचौका अध्यक्ष घनश्याम मिश्र, अखिल (क्रान्तिकारी) का अध्यक्ष आलोक रायमाझी, राप्रविसंघका अध्यक्ष महेशबहादुर सिंह, अखिल नेपाल विद्यार्थी युनियनका अध्यक्ष सन्देश भट्टराई, राप्रविसंघ संयुक्तका अध्यक्ष धनसुर शाहीले परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापन पत्र बुझाउन पुगेकामध्ये एक नेविसंघ महामन्त्री दीपक भट्टराईले आफूहरूले नेपालका भूभाग समेटिएको नक्सा जारी गर्न आग्रह गरेको बताए । ज्ञापनपत्र बुझिलिँदै मन्त्री ज्ञवालीले यसअघिका सरकारले कुटनीतिक पहलकदमी नगर्दा समस्या देखिएको बताएका थिए ।