भारतीय हस्तक्षेप बिरुद्ध धरानमा बिरोध।

न्युज ब्युरो,धरान – भारतले नेपाली भुमी लिपुलेकमा अतिक्रमण गरेको विरूद्ध आज भानुचोकमा सामाजिक अभियन्ताहरु द्वारा विरोध कार्यक्रम आयोजना गरिएको छ । लकडाउनको बेला निषेधित क्षेत्रमा भएको प्रदर्शनी भने प्रहरीले रोकेको छ ।

सामाजिक संजालबाट आह्वान गरेर दिउँसो १२ बजेदेखि सामाजिक अभियन्ताहरुले लोकतान्त्रिक चौतारीमा शान्तिपुर्ण विरोध कार्यक्रम गर्ने योजना रहेको पत्रकार एवं अभियन्ता महेश श्रेष्ठले बताए । ‘१२ बजेदेखी करिब डेढ घण्टा आयोजना गर्ने भनिएको शान्तिपूर्ण विरोध कार्यक्रमको अन्तिम समयमा प्रहरी आएर हस्तक्षेप गरेको थियो । भारतीय हस्तक्षेप बन्द गर, कालापानी लिम्पियाधुरा हाम्रो भुमी हो लगायत नारा लेखिएको पर्चा सहित विरोध भइरहेको थियो ।’ श्रेष्ठले भने, ‘करिब १ घण्टा २० मिनेट पछि प्रहरीले ती पर्चाहरु लगेको थियो । हामीले सामाजिक दुरी कायम गरेर नै शान्तिपुर्ण विरोध गरेका थियाै ।’

यस्तै, भारतले केही दिन अघि दार्चुला, लिपुलेक हुँदै मनसरोवर सम्म जोड्ने नयाँ मार्ग उद्घाटन गरेर अन्तर्राष्ट्रिय कानुनको धब्जी उडाई भारतीय विस्तारवादको नमुना प्रस्तुत गरेको विरुद्ध धरानका विधार्थीहरू समेतले आज नै विरोध जुलुसलाई निकालेका थिए । विधार्थीहरूको विरोध जुलुसमा भारतीय सेना फिर्ता गर्नुपर्ने, नेपालको भूमी तत्काल फिर्ता गर्न माग गरेका थिए । त्यसलाई समेत प्रहरीले हस्तक्षेप गरेको छ ।

धरानको महेन्द्र बहुमुखि क्याम्पस निस्कने विधार्थीको जुलुसको सुईको पाएको प्रहरी कलेजको गेटमा नै पुगेको महेन्द्र क्याम्पस स्वावियु सभापति सरगम सागर चेम्जोङले जानकारी गराए । करीब ४० जनाको संख्यामा भेला भएको विधार्थीलाई प्रहरीले त्यही नै रोक्न खोज्दा १५ देखि २० जना जस्तो उम्केर भानुचोक पुगी तरकारी बजार हुँदै कलेज फर्किएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial