
न्युज ब्युरो,धरानःवैशाखे पूर्णै उभौलीको बेला वर्सेनी काटछाँट गरिने धरान विजयपुर स्थित बुढासुब्बा मँिन्दर परिसरको बाँस यसपाली मेयर तिलक राई लाई प्रतिकात्मक रुपमा पुजारी डम्बरबहादुर आलेमगरले प्रदान गर्दै छाँट्ने कार्यको शुरुआत गरिएको छ । बुढासुब्बा मन्दीर वरिपरीका टुप्पो नभएकोे बाँस बुढासुब्बाको धनुषमा प्रयोग हुने वाणको प्रतिक मानिन्छ । प्रसिद्ध ऐतिहासीक बुढासुब्बा मन्दीरको छुट्टै धार्मीक एवं सांस्कृतिक इतिहास इतिहासकार इमानसिंह चेम्जाङको ‘किरातकालीन विजयपुरको इतिहास’मा उल्लेख छ । इतिहास संगै धेरै किम्बदन्तीहरु छन् । त्यस मध्ये टुप्पो बिनाको बाँसको बारेमा धेरैमा जिज्ञासा रहेको पाइन्छ ।
किम्बदन्ती अनुसार बुढासुब्बा शिकार खेल्दै विजयपुर आइपुगेपछि अलप भएका थिए । उनले शिकारका लागि प्रयोग गर्ने धनुष र वाण अहिले बुढासुब्बा मन्दीर भएको ठाउँमा छोडिएको थियो । कालान्तरमा त्यही फालिएको धनुष र वाण मध्ये वाण बाँसको रुपमा उम्रिएको हो । ऐतिहासीक कालमा विजयपुरमा उनको आत्मा बैशाखी पूर्णेको राती सेतो घोडमा चढेर भ्रमण गर्दथे । पछि उनको समाधी बनाएर पूर्णिको दिन पूजा अर्चना गर्न थालेपछि उनको आत्माले त्रसित बनाउन छोडेको उहिले विजयपुरका बुढापाकाले बताउने गरेको किम्बदन्ती स्वर्गिय वडा अध्यक्ष पद्म नरसिंह श्रेष्ठ बताउँने गर्दथे ।
त्यसै बेला देखी पूर्णिमाका दिन विजयपुरको रक्षाका लागि विशेष मानिसहरु लाई वाणको प्रतिकका रुपमा बाँसको हाँगा दिएर त्यही दिन गाउँलेहरु लाई आवश्यक बाँस बाँसघारी छटनी गरेर बाँड्ने गरिन्थ्यो भन्ने कथन छ । बुढासुब्बाको वाणको प्रतिकका रुपमा बाँसको हाँगा प्राप्त गर्ने बाट विजयपुरका रक्षा गर्ने तथा शत्रुहरु लाई पराजित गराउने विश्वास रही आएको छ । राजा पृथ्वीनारायण शाहको कालखण्डमा पारम्परिक धर्मिक स्थलहरुमा मगर पुजारी राखिन थालेपछि बुढासुब्बा मन्दिरमा मगरका पुर्खाहरु बाट नियमित पूजा अर्चचना गर्न थालिएको हो । उनिहरुले समाजका अगुवा लाई बाँसको हाँगा प्रदान गरेर वर्षमा एक पटक बाँसघारी छाँटकाट गर्ने परम्परा लाई निरन्तरता दिएका हुन् ।
वर्तमान पुजरी डम्बरबहादुर मगरले त्यहाँ बैशाखे पूर्णिको दिन बाँस काट्ने प्रचलन पहिलेदेखी नै रहेको कुरा बताएर यस्को पुष्टि गरे । उनका अनुसार हरेक वर्ष सरसफाइ गरेपछि सानै भएपनी बाँसको छेस्का दिने चलन रहेको छ । त्यही चलन अनुसार मेयर तिलक राईलाई निम्तो गरेर बाँसको एउटा हाँगा प्रदान गरिएको हो ।