मिडियाको भूमिकाप्रति प्रधानमन्त्रीले आशंका व्यक्त गरे।

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को महामारीमा मिडियाको भूमिकाप्रति आशंका व्यक्त गरेका छन् । राज्य संयन्त्रले बाटोमा हिँडेका जनताको बारेमा थाहा नपाएको बेला पत्रकारले कसरी थाहा पाउँछ भन्दै प्रधानमन्त्री ओलीले आशंका व्यक्त गरेका हुन् ।

‘धादिङबाट मान्छे आफ्नो घर जान निस्कन्छन् । बीचमा प्रकट हुन्छन् मान्छे । एउटा कुरा, पत्रकार चाहिँ त्यहाँ कसरी पुगिसक्छ ? त्यहाँको प्रहरीलाई थाहा छैन, सिडिओलाई थाहा छैन । तर, मान्छे हुरुरु निस्केर गन्तव्यतिर लाग्दा पत्रकारलाई थाहा हुन्छ र काठमाडौँबाट क्यामेरा बोकेर पुग्या हुन्छ त्यहाँ । कसरी ? रहस्यपूर्ण छैन र ?,’ सरकारी सञ्चार माध्यमसँगको अन्तरवार्तामा प्रधानमन्त्रीले शंका व्यक्त गरे ।

लकडाउन लम्बिँदै जाँदा मजदूर, श्रमिक र अन्य बेरोजगारहरु काठमाडौँबाट गाउँ जान वा भारतबाट स्वदेश फर्कने क्रममा लामो पैदलयात्रा तय गर्नुपरेको कष्टपूर्ण दृश्य देखिएमा छिटो माध्यमबाट सम्बन्धित निकायमा सूचना दिन पनि प्रधानमन्त्रीले आग्रह गरे । ‘कुनै ठाउँमा मान्छे अलपत्र परेको देख्नुभयो भने पर्खिएर त्यो अलपत्रताको, दुःखको प्रशारण भोलिल्ट मिडियाबाट गर्ने होइन । हेलो सरकारको नम्बर त वहाँहरुलाई थाहा होला त्यहाँ बताइदिए हुने थियो ।  सिसीएमसीमा २० जना मान्छे २४ सै घण्टा स्ट्याण्डबाइ बसिरहेका छन । त्यहाँ खबर गरौँ । बिजोग दृश्यमा रमाइलो मान्नेभन्दा पनि यसलाई रचनात्मकरूपमा समाधान गर्न लाग्न सकिन्छ ।’

प्रधानमन्त्रीले आरोप लगाए, ‘अघिल्लो दिनको राति खिचेको फोटो भोलिपल्ट ५ः२२ मा अपलोड गरियो ।  त्यतिबेलासम्म सरकारले व्यवस्थापन गरिसक्थ्यो तर सरकारलाई थाहा भएन । सरकारलाई जानकारी गराउन अनुरोध छ । सरकारले थाहा पाउने बित्तिकै उनीरुको व्यवस्था गर्छ । जहाँ पुगेका छन् त्यहाँ खाना खुवाएर सरकारले तिनीहरुको व्यवस्थापन गरेको छ ।’ सरकारलाई गालीको फेहरिस्त बुन्नुभन्दा छिटो सूचनाका माध्यमबाट सरकारलाई सूचना दिन आग्रह गरे ।

यस्तो बेलामा सरकारलाई विरोध गर्न अस्त्रहरु तयार गरेर कसैले पनि खेल्नु नहुने बताउँदै नेपालमा रोग या भोकले कोही मर्नु नपर्ने जिकिर गरे । ‘यो देश भीखमङ्गाहरुको देश होइन । गरिखानेको देश हो । विशेष परिस्थिति भएकाले आमजनतालाई असुविधा भएको कुरा हामीले महसुस गरेका छौँ,’ उनले भने, ‘पहिला त भाइरस रोगबाट जीवन बचाउनुपर्छ भनेर एकजुट भइ लाग्नुपर्छ । हामीले राहत वितरणलाई पनि निरन्तरता दिएका छौँ । त्यहाँ कुनै अपर्याप्ता छ भने हेर्न सकिन्छ ।’

‘वास्तवमा विचारहीन र आग्रहपूर्ण ढङ्गले जेमा पनि विरोध र दुष्प्रचार झुठ र अमर्यादित प्रस्तुति गरिनु एकाध मान्छेको कर्कश धुन हो,’ उनले भने, ‘यसरी आलोचना गर्नु त्यो उनीहरुको प्रवृत्ति हो । अमर्यादित शैलीमा गरिने आरोपले आरोपकर्ताहरुको सांस्कृतिक स्तर देखाउँछ तर जनताको जीवनरक्षा गर्ने आफ्नो जिम्मेवारीमा सरकार पछि पर्दैन । यसमा सबैको साथ र समर्थन छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial