न्युज पोर्टल ह्याक गरी समाचार हटाएको प्रती बिरोध।

समाचार डेस्क/काठमाडौं प्रेस नामक अनलाइनको एउटा समाचार ह्याक गरेर  हटाइएकाे घटनाप्रति प्रेस युनियन काठमाडौँले आपत्ति जनाएको छ।

‘महँगोमा स्वास्थ्य सामग्री खरिदमा रक्षामन्त्री र प्रधानमन्त्रीका सल्लाहकारका छोराको संलग्नता’ शीर्षकको समाचार अन-अधिकृत रुपमा हटाइएको भन्दै युनियनले त्यसमा संलग्न माथी छानबिन गरिनुपर्ने बताएको छ ।सो घटनामा संलग्न रहेको भनिएका प्रधानमन्त्रीका ‘आइटी विज्ञ’ असगर अलीमाथि पनि छानबिन अघि बढाउन युनियनले माग गरेको छ ।

युनियनका अध्यक्ष जगन्नाथ दुलालले बिहीबार एक विज्ञप्ति जारी गर्दै लेखेका छन, ‘सत्तामा रहनेहरूले विपद्को‍ घडीमा मच्चाएको ब्रह्मलुट बारेमा लेखिएको समाचार हटाउनुले ठूलो अनियमितता भएको आशंकालाई थप बल पुर्‍याएको छ ।’

समाचार हटाउने कार्य साइबर अपराध, व्यक्तिगत डाटा दुरूपयोग र प्रेस स्वतन्त्रता माथिकै प्रहार रहेको भन्दै युनियनले प्रधानमन्त्रीकै सूचना प्रविधि विज्ञ यो घटनामा मुछिनुले गम्भीर प्रश्न उठाएको जनाएको छ ।

‘वेबसाइट होस्टिगङ र डेभेलपमेन्ट गर्नेले एक्सेसको दुरूपयोग गरेर समाचार सामग्री नै हटाइदिएको घटनाले आफ्नो महिमागान बाहेक अरू प्रकाशन, प्रसारण गर्न नदिन शाहीकालमा समाचार कक्षमा सेना पठाएर कलमलाई बन्दुकले रोक्न खोजेको घटनालाई समेत बिर्साउने गरी सञ्चारमाध्यममाथि साइबर आक्रमण गरिएको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘अझ प्रधानमन्त्रीकै सूचना प्रविधि विज्ञ नै यो घटनामा मुछिनु र उनीमाथिको घटना सार्वजनिक भएको यति समयसम्म पनि सामान्य एक्सनसम्म नहुनुले कतै सरकार नै नियन्त्रित प्रेसको पक्षमा छ कि भन्ने गम्भीर प्रश्न उब्जिएको छ ।’समाचार चित्त नबुझ्ने त्यस उपर कानुनी उपचार खोज्ने बाटाहरू छँदाछँदै अपराधिक बाटोमा जाने कार्य निन्दनीय रहेको विज्ञप्तीमा जनाइएको छ ।

‘एफवान सफ्टका अध्यक्ष विश्वास ढकाल र सुवास शर्माले समाचार हटाउन सञ्चारकर्मीलाई धम्की दिएको काठमाडौ प्रेसका सम्पादकले विज्ञप्तीमार्फत बताएका छन्,’ विज्ञप्तीमा थप भनिएको छ, ‘सञ्चारकर्मीलाई समाचार सामग्री हटाउन माथिको दबाब भन्दै धम्कीको भाषा प्रयोग गरेको र लगत्तै समाचार हटाइदिएर साइबर अपराध गरेकाले तत्काल नियन्त्रणमा लिई आवश्यक छानबिनको प्रक्रिया अघि बढाउन प्रशासनसँग जोडदार माग गर्दछौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial