नेपालमा कोरोनाको संक्रमण अहिले सम्म देखिएको छैन।

समाचार डेस्क /विश्वभर कोरोनाको महामारी फैलिसक्दा पनि नेपालमा संक्रमण नफैलनु सुखद पक्ष रहेको प्रम ओलीले बताए । ‘तर हामी  जोखिमबाट ढुक्क हुने अवस्था छैन । मैले सधैं नागरिकको स्वास्थ्य र सुरक्षालाई उच्च प्राथमिकतामा राखेको छु । त्यसैले स्पष्ट योजना बनाएर काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छु,’ उनले भने । प्रधानमन्त्री ओलीले कोरोनाको संक्रमण रोकथामका लागि सरकारी संयन्त्र सक्रिय रहेको बताए । उनले यस अवधिमा आफ्नो नेतृत्वमा ५ वटा बैठक सम्पन्न भएको बताए । उपप्राधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा समस्या समाधानका लागि नीतिगत निर्णय गर्न संयन्त्र गठन गरिएको पनि उनले बताए ।

‘यी संयन्त्रमार्फत सरकारले प्रदेश र स्थानीय तहमार्फत समन्वय गरी एकिकृत ढंगबाट रोकथाम र सतर्कताको अभियान बढाउँदै आएको छ,’ उनले भने, ‘महामारीसँग जुध्न सजिलो छैन । हामीले आफ्ना व्यवहार र दैनिकीमा परिवर्तन गर्न जरुरी छ ।’

सम्भावित संक्रमणलाई परास्त गर्न आनीबानी र दैनिकी परिवर्तन गर्नुको विकल्प नरहेको उनले बताए । ‘सरसफाईमा ध्यान दिनुस्, पटक–पटक हात धुनुस्, भीडभाडबाट टाढा रहनुस्, अत्यावश्यक वस्तुको अधिक सञ्चय नगर्नुहोस्, चिकित्सक विज्ञ र प्राविधिको सल्लाह पालना गर्नुस्, सावधान र धैर्यवान् रहनुस् तर आतंकित नहुनुहोस्,’ प्रधानमन्त्रीले भने । 

प्रधानमन्त्री ओलीले संक्रमित मुलुकबाट आएका सबैले कम्तिमा १४ दिन क्वारेन्टाइनमा बस्ने नियम पालना गर्नुपर्ने बताए । उनले जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न सबैसँग आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial