समाचार डेस्क/ काङ्ग्रेस केन्द्रीय सदस्य डा.शेखर कोइरालाले कोइराला परिवारबाटै सभापति हुनुपर्छ भन्ने मान्यतामा आफू नरहेको बताएका छन् । शनिबार गोरखा सदरमुकाममा पत्रकारहरुसँग कुराकानीमा कोइरालले कार्यकर्ता र महाधिवेशन प्रतिनिधिले जसलाई रुचाउछन् त्यही पार्टी सभापति हुने बताए ।

‘कोइराला परिवारको कुराले दिक्क भइसके, कोइराला परिवारमा हामी तीन जना छौँ, हामीबीच अन्डरस्याण्डिङ छैन भन्ने भ्रम हटाइदिनुस, अन्डरस्याण्डिङ छ,’ उनले भने, ‘कोइराला परिवारकै सदस्य सभापति हुनुपर्छ भन्ने मान्यता मैले राख्दिन, विरासतको राजनितिमा विश्वास गर्दिन, म कर्ममा विश्वास गर्छु ।’
कार्यकर्ता जसले रिझाउन सक्छ त्यही नेता १४ औं महाधिवेशनबाट कांग्रेस सभापति बन्ने कोइरालाले बताए ।राजनीति गर्ने हरेक व्यक्तिको नेतृत्वमा पुग्ने आकांक्षा हुने उनको भनाइ छ । ‘हरेक मानिसको इच्छा आकांक्षा हुन्छ, केही काम गर्दा नेतृत्वमा पुगौ, मेरो पनि छ,’ उनले भने, ‘कार्यकर्ता र महाधिवेशन प्रतिनिधिले जसलाई रुचाउँछन त्यही सभापति हुन्छ ।’
आफू कुनै पनि गुटमा नरहेको पनि उनको भनाइ छ । ‘म नेपाली कांग्रेस गुटमा छु,’ उनले भने, ‘गुट भनेको विचारको हुनुपर्छ । भागवण्डाको गुटले कांग्रेस चल्देछ, म भागवण्डामा विश्वास गर्दिन ।’