
दमक/ झापाको दमक–३ स्थित ढुकुरपानी माबिमा निर्मित विद्यालयका दुई भवन संयुक्त राष्ट्र संघ शरणार्थी उच्चायुक्तको कार्यालयले सम्वन्धित विद्यालयलाई प्रदान गरेको छ ।
शरणार्थी सम्बन्धि संयुक्त राष्ट्र संघ उच्चायुक्तको कार्यालय नेपालकी प्रमुख क्यारोलिन स्पोनीत वर्माले भवन हस्तान्तरण गरेकी हुन् ।
भवन हस्तान्तरण पछि ढुकुरपानी माविमा आयोजीत कार्यक्रममा उनले शरणार्थीहरुको संरक्षणका लागि नेपाल सरकारले पुर्याएको योगदानको प्रशंसा गरिन् ।

यस्तै बेलडाँगी शिविर सचिव कृष्ण लिङदेनले अपांगता भएका विद्यार्थीहरुका लागि विशेष व्यवस्था गरेर पठन पाठनको व्यवस्था मिलाई दिन माग गरे भने कारितास दमकका प्रवन्धक देवेन्द्र पोखरेलले सन् २०२० बाट सवै दाताहरु बाहिरिने पूर्व घोषणा अनुसारनै विद्यालयहरुलाई भवन प्रदान गरिएको बताए । आधारभूत विद्यालयले ६८ लाख ८१ हजार तथा ढुकुरपानी माविले १ करोड २४ लाख रुपैयाँ लागतमा बनेका भवन पाएका हुन् ।
वडा नं. ३ का वडाध्यक्ष नवीन बरालको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी, ढुकुरपानी माविका प्रधानाध्यापक कृष्णप्रसाद भण्डारी लगायतले शरणार्थी बालबालिकाहरुको पठन पाठनका लागि शिक्षक दरवन्दि मुख्य चुनौती रहेको बताए ।