
अबिन मेयाङ्बो/ मधेस केन्द्रित विभिन्न ६ वटा पार्टी एकता भएर बनेको राष्ट्रिय जनता पार्टीले एकता भएको तीन वर्ष पुगिसक्दा पनि महाधिवेशन गर्न नसकेको अवस्था छ। २०७४ वैशाख ६ मा पार्टी एकीकरण गरिँदा एक वर्षभित्र एकता महाधिवेशन गर्ने भनेको थियो । पार्टी विधानमा समेत त्यही व्यवस्था राखिएको छ । २०७५ वैशाखसम्ममा महाधिवेशन गर्ने निर्णय पनि भयो, तर नेताहरू महाधिवेशन गराउन अझै तयार नभएको देखियो। बरु, विधान संशोधन गर्दै महाधिवेशनको समय फेर्दै आएका छन् ।
तोकिएकै अवधिमा महाधिवेशन गर्न नसकेपछि पार्टीको अध्यक्षमण्डलले विधान संशोधन गरी दुई वर्षभित्र महाधिवेशन गर्ने अर्को निर्णय गर्यो। जसअनुसार २०७५ कात्तिक २८ मा महाधिवेशन गर्ने मिति तोकियो, तर उक्त मितिमा पनि गर्न सकेनन् । फेरि तीन वर्षभित्र महाधिवेशन गर्ने भनेर विधान संशोधन गरियो । विधानको व्यवस्थाअनुसार आगामी असारभित्र महाधिवेशन गरिसक्नुपर्ने हुन्छ ।तर अझै पनि तयारीको सुरसार भने काहीँ कतै देखिदैन ।
राजपाका एक नेताले चौथोपटक विधान संशोधन गरेर महाधिवेशन सार्नुको विकल्प पार्टीसँग नभएको बताए ।