कमल गाउपालिकाको सुकुम्बासी बस्तीमा सशस्त्र प्रहरीले चलायो डोजर,भिडियो गर्दा कुटिए स्थानीय।

अबिन मेयाङ्बो,झापा । कमल गाउँपालिका वार्ड न.०५ स्थिति रहेको सुकुम्बासी बस्तीमा एकाबिहानै सशस्त्र प्रहरीले डोजर चलाउदा सुकुम्बासीहरु माथि बज्रपात आइलाग्यो । ओछ्यानमै हुँदा आइपुगेका सशस्त्र प्रहरीले धमाधम घर भत्काउन थाले । एकछिनमै सिंगो सुकुम्बासी बस्ती भगनाबेसमा सिमित भयो ।

भत्काइएको घर/टहरा

प्राय त सबै जना बाहिर नै निस्किए तर लुगाफाटा र अन्नपात घरसँगै पुरियो । सशस्त्र प्रहरी बलको तालिम केन्द्रको जग्गामा १६ वर्षदेखि बस्दै आएकी रेग्मीसहित ४२ घर शुक्रबार बिहानै भत्काइयो । ‘हामी यहाँ १६ वर्षदेखि बस्दै आएका थियौ । सुरुमा माओवादीको जगजगी भएका वेला सशस्त्रले नै हामीलाई यहाँ ल्याएर बसायो । अहिले उसैले बास खोस्यो,’ गहभरि आँसु पार्दै सावित्राले पीडा पोखिन् ।

शुक्रबार बिहानसम्मै सिमसिम पानी परिरहेको थियो । भएका लत्ताकपडा घरभित्रै पुरिए, निकाल्न भ्याएकाहरू पनि भिजे । बिहान त्यहा पुग्दा उनीहरू भत्काइएका घरको खर बालेर जाडो भगाउँदै बसिरहेका थिए । ‘ के खाने, कहाँ बस्ने ?’ ७४ वर्षीय गणेशबहादुर भण्डारी गह भरी आँसु पार्दै भन्दै थिए, ‘कतै जग्गा नभएका हामी सुकुम्बासीको बिचल्ली भयो। पीडितको पक्षमा बोलिदिनेसम्म कोही कुनै राजनैतिक दल संघसंस्था भएनन् ।’

घर–टहरा भत्काउन तीन सयभन्दा बढी सशस्त्र प्रहरी त्यहा पुगेका थिए । त्यस क्रममा आफूहरूमाथि हातपातसमेत गरिएको सुकुम्बासीहरूले बताए । भिडियो खिच्दै गर्दा कुटपिट गरेको र मोबाइल फोन खोसेको सुकुम्बासीको आरोप छ । तर, सशस्त्र प्रहरीका एसपी सुधीर जंग थापाले खण्डन गरे । ‘म पनि दुई घन्टासम्म त्यहीँ थिए । कसैलाई हातपात गरेका छैन,’ उनले भने, ‘कसैको मोबाइल पनि ल्याएका छैन।’ पीडितहरूले घटनालाई बंगाउन खोजेर हामीलाई दोषी देखाउन खोजेको एसपी थापाको आरोप छ । तर, प्रमुख जिल्ला अधिकारी उदय रानाले भने हातपात भएको स्वीकार गरेकाछन । ‘सामान्य झडप भएको हो । केही घाइते भएका छन् । उनीहरू अस्पतालबाट डिस्चार्ज भइसकेका छन्,’ प्रजिअ रानाले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Share Buttons and Icons powered by Ultimatelysocial