‘हामी अझै किन साइकल कुदाइरहेका छौं ?’

लक्ष्मी : केरला (भारत) रेसमा जाने होइन त ?

बुद्धि : (मलिन स्वर पार्दै…) साइकल नै भाँच्चिएको छ, जाउँ कि नजाऊँ ?

लक्ष्मी : अन्तर्राष्ट्रिय रुपमा ‘नोटिस’ हुने ‘रेस’ हो । कस्तो जाउँ कि नजाऊँ गरेको त ?

बुद्धि : जान त जाने तर साइकल हुनुपरेन ?

लक्ष्मी : (कसैको नाम लिँदै) दाइसँग माग्नु नि ।

बुद्धि : त्यो दाइको पनि साइकल भाँच्चिएको छ ।

लक्ष्मी : अनि (अर्को नाम लिँदै) दाइको माग्नु नि ।

बुद्धि : उहाँ आफैं रेसमा जाने रे…।

लक्ष्मी : त्यसो भए के गर्ने त ?

बुद्धि : खोइ…?

यो सम्वाद १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा साइक्लिङतर्फ ‘क्रस कन्ट्री’ विधामा नेपाललाई स्वर्ण पदक दिलाउने लक्ष्मी मगर र बुद्धिबहादुर तामाङको हो । सुन्दा अचम्म लाग्न सक्छ, सागका स्वर्ण पदक विजेता खेलाडी साइकल नभएकै कारण अन्तर्राष्ट्रियस्तरको रेसमा भाग लिने कि नलिने भन्ने अन्यौलमा छन् ।

सोध्यौं, स्वर्ण जितिसक्दा पनि अभावले छाडेको छैन ?’

बुद्धिबहादुर थोरै मुस्कुराए । अनि बोले, ‘अभावका कुरा त नगरौं भो । हामी किन यो क्षेत्रमा छौं, कहिलेकाहीँ आफैँलाई अचम्म लाग्छ ।’

त्यसपछि उनी चुप भए । लक्ष्मी बोलिन्, ‘हाम्रो संघर्षको कथा अरु खेलाडीको भन्दा कम छैन । उपलब्धी पनि छन्, तर सेवा सुविधा त छँदै छैन, नाम पनि छैन ।’

त्यसमा बुद्धिबहादुरले थपे, ‘एउटा खेलाडीलाई गर्नुपर्ने ‘केयर’ र ‘रेस्पेक्ट’ दुवै छैन । देशका लागि खेल्नुपर्‍यो भने खोज्छन् । अरु बेला कहाँ के गर्दैछ कुनै वास्ता हुन्न ।’

Social Share Buttons and Icons powered by Ultimatelysocial