गुटगत राजनीतिको शिकार बनेको टरीगाउँ विमानस्थल

विसं. २०११ सालमा दाङ, दोघरेका समाजसेवी स्व झक्कुप्रसाद रेग्मीको पहलमा स्व. राजा त्रिभुवनको स्वीकृतिबाट स्थापना भएको दाङस्थित टरिगाउँ विमानस्थल अहिले संकटमा परेको छ ।

तत्कालीन समयमा टावर लगायत उपकरणको अभावमा विमान आउँदा पराल बालेर राँकोलाई संकेतका रुपमा प्रयोग गरी विमान अवतरण गराइएको अनुभव स्थानीय वृद्धहरु सुनाउँछन् । इतिहासको माया लाग्नेहरुले टरिगाउँ विमानस्थलको माया मार्न सकिरहेका छैनन् । ‘हाम्रो जिल्लाबाट शंकर पोखरेल, कृष्णबहादुर महराजस्ता ठूला नेताले प्रतिनिधित्व गर्छन्, उनीहरुकै दुई तिहाई सरकार छ, तर जाबो एउटा आन्तरिक विमानस्थल सुधार गर्न सकेनन, बरु खुमबहादुर बाँचेको भए गर्थे कि ?’ आक्रोशित मुद्रामा तुलसीपुरका हाडजोर्नी विशेषज्ञ डा.घनश्याम शर्मा गर्जन्छन् ।

स्थापनाका ३१ वर्षसम्म सुचारु रहेको विमानस्थल ०४२ सालमा बन्द भयो । ०६० सालमा तुलसीपुर उद्योग वाणिज्य संघको पहलमा फेरि खुल्यो र ०६६ सालमा बन्द भयो । ०६८ माघपछि तुलसीपुर उद्योग वाणिज्य संघकै पहलमा नेपाल वायुसेवा निगमसँग विभिन्न सम्झौता गर्दै फेरि सञ्चालनमा ल्याइयो । तर, त्यो नौ महिनाभन्दा धेरै टिक्न सकेन ।
यसरी पटक–पटक बन्द हुँदै र खुल्दै आफ्नो अस्थित्व जोगाउन धौ–धौ परिरहेको विमानस्थल ०७५ असोजदेखि तुलसीपुर उपमहानगरपालिकाको पहलमा फेरि सञ्चालनमा आयो ।

विमानस्थल सञ्चालनमा ल्याउन कति कठिन छ भन्ने कुरा तुलसीपुर उद्योग वाणिज्य संघका तत्कालीन अध्यक्ष विमल रिजाल र तुलसीपुर उपमहानगरका मेयर घनश्याम पाण्डेले नेपाल वायुसेवा निगमसँग गरेका सम्झौताका केही सर्तहरुले स्पष्ट पार्दछन् ।

विमल रिजालले काठमाडौँ–तुलसीपुर–काठमाडौँ एक उडानमा ६ सिटको जिम्मा लिँदै सम्झौता गरेका थिए । उक्त ६ सिटको मूल्य संघले निगमलाई तिथ्र्याे । मेयर पाण्डेले ‘यदि घाटा भएमा निगमको सम्पूर्ण घाटा उपमहानगरले जिम्मा लिने’ सर्तमा निगमको खातामा १० लाख रुपैयाँ धरौटी अग्रिमरुपमा जम्मा गरेर विमान सञ्चालनमा ल्याएका छन् ।

यी सर्तहरु झट्ट सुन्दा विमानले यात्री नपाउने समस्या हो कि जस्तो लाग्न सक्छ । तर, समस्या त्यो होइन । समस्या त यो हो कि धावनमार्ग छोटो (७५० मि) हुँदा १६ सिटे साना ट्विनअटर विमानमात्र सञ्चालन हुन्छन् ।

त्यसमाथि हवाई इन्धनको भण्डारण दाङ्गमा नहुँदा विमानले फर्कने र भैपरी आउने समेतको अतिरिक्त इन्धन काठमाडौंबाटै बोकेर आउनुपर्छ । यसो गर्दा विमानले प्रत्येक उडानमा ३ वटा सिटमा यात्री बोक्दैन । ती सिटको भाडा अन्य यात्रुले बेहोर्नुपर्ने गरी मूल्य समायोजन गरिएको छ । यसबाट यात्रीलाई भाडा धेरै महंगो परेको छ । दाङभन्दा करिब १३५ किमि टाढा नेपालगञ्को हवाई भाडा चार हजार रुपैयाँदेखि सुरु हुन्छ भने दाङको ६ हजारभन्दा बढी छ ।

धावनमार्ग विस्तार गर्ने, ईन्धन डिपो स्थापना गर्ने र कम्तीमा मध्यम खालका एटीआर विमान सञ्चालन गर्न दाङबासीले पहल नगरेका होइनन् । पर्यटन र वाणिज्यमन्त्रीदेखि, नागरिक उड्यन प्राधिकरणका प्रमुख, आयल निगमका प्रमुख, वाणिज्य मन्त्रालयका सचिव, संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सचिव, दलका शीर्षस्थ नेता, दाङलाई प्रतिनिधित्व गर्ने र केन्द्रमा पनि पकड राख्ने ठूला नेताहरु, दाङका जनप्रतिनिधिहरु सबैलाई भेटेर जिल्लाबासीले अनुनय– विनय गरे । तर, मिल्यो त केवल आश्वासन मात्र ।

Social Share Buttons and Icons powered by Ultimatelysocial